इराकको सुपरमार्केटमा भीषण आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु
काठमाडौं । इराकको कुत शहरस्थित एक ठुला सुपरमार्केटमा भएको भीषण आगलागीमा कम्तीमा ६० जनाको मृत्यु भएको छ। इराकको सरकारी समाचार एजेन्सी (आईएनए) का अनुसार अन्य केही बेपत्ता भएका छन्।
‘हामीले ५९ जना मृतकको पहिचान गरिसकेका छौँ। तर एक शव धेरै जलिसकेकाले पहिचान गर्न कठिन भएको छ,’ एक स्थानीय स्वास्थ्य अधिकारीले बिहीबार आईएनएलाई बताए।
सहरका अधिकारी अली अल–मायाहीले भने, ‘अझै पनि केही शव आगलागीको भग्नावशेषमा फसेका छन्। हामीले निकाल्न बाँकी छ।’
वासीट प्रान्तका गभर्नर मोहम्मद अल–मायाहीका अनुसार आगलागी एक सुपरमार्केट र रेष्टुरेन्टमा भएको थियो। आगलागीको समयमा केही परिवारका सखस्य खाना खाँदै र किनमेल गरिरहेका थिए। दमकलकर्मीहरूले केही व्यक्तिको उद्धार गरेका थिए। दमकलहरुले आगो निभाएका थिए।
यस घटनालाई मध्यनजर गर्दै इराकले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ। घटनाको छानबिन सुरु गरिएको र नतिजा ४८ घण्टाभित्र सार्वजनिक गरिने बताइएको छ।
‘हामीमाथि एउटा ठुलो विपत्ति र दुःखद घटना घटेको छ,’ गभर्नरले भने। उनले भवन र मलका मालिकविरुद्ध मुद्दा दायर गरिएको बताए।
Facebook Comment