माग्ने राजाको सुतेर उठेको पैसामा
काठमाडौं । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।
संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयंको हो । उनलाई चाइल्ड भर्सनमा रोनिश खड्काले गायनमा साथ दिएका छन् । गीतमा गम्भिर बिष्टको कोरियोग्राफी छ ।
फिल्ममा ऋषि लामिछानेको निर्देशन छ । यो फिल्मबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन् । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि फिल्म निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
Facebook Comment