नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा उभिएको छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताएका छन्।
बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा बीपी स्मृति अस्पताल,बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले नेपालको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका हुन। उनले बीपीको मेलमिलाप नीति आज पनि सान्दर्भिक भएको बताए।
देउवाले राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता,मुलुकको समृद्धि,सामाजिक सद्भाव ठूलो हो भन्नेमा बीपीको दृढ मत भएको जिकिर गरे। उनले प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याएको बताए।
त्यस्तै उनले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै बीपी नेपाल फर्किएको स्मरण गरे। त्यस्तै सभापति देउवाले बीपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यता कारण कांग्रेस वर्तमान अवस्थामा आएको धारणा राखे।
Facebook Comment