विश्वप्रकाश भन्छन्: प्रतिकूलताबाट गठबन्धनको सरकार बनेको छ, सहमतिमै अघि बढ्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको सरकार सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका छन्।

बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा प्रतिकूलता र जटिलताबाट अहिले गठबन्धनको सरकार बनेको भन्दै सहमतिका आधारमा अघि बढ्नुपर्ने बताएका हुन्।

कुलिङ अफ पिरियड र भूमि विधेयकका सन्दर्भमा दुई दलको फरक मतलाई हल गर्न प्रधानमन्त्री गम्भीर हुनुपर्ने उनको भनाई छ। महामन्त्री शर्माले कुलिङ अफ पिरियडमा कांग्रेसको भावना विपरीत एमाले अघि बढ्न खोजे गठबन्धनमा दरार आउन सक्ने बताए। सरकारलाई सफल बनाउने सर्तमा सबै विषयलाई सहजै स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे।

त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दुई दलले एकअर्काको दृष्टिकोणलाई स्वीकार गर्न सके मात्रै गठबन्धन सफल हुने बताए । उनले सर्वसम्मतबाट पास भएको कुलिङ अफ पिरियडको विषयमा कांग्रेसले कम्प्रमाइज गर्न नसक्ने स्पष्ट पारे । भूमि विधेयक लगाएत महत्वपूर्ण विषयमा पनि एकलौटी लाद्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।

उनले गठबन्धनको सरकार गठन हुँदा दुई दलबीच भएको सहमति अनुसार संविधान संशोधनको विषयलाई समेत अघि बढाउनुपर्नेमा जोड दिए । अहिलेको गठबन्धन सरकार ८४ सम्म निरन्तर लैजान सरकारको प्रभावकारीता बढ्नुपर्ने उनको भनाई छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *