रिमैको टिजर सार्वजनिक
काठमाडौं । निर्देशक खिलबहादुर गुरुङको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।
फिल्मको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।
फिल्मको छायांकन र संवादले समाजका गहिरा यथार्थ प्रस्तुत गर्ने आशा टिजरले दिलाउँछ । टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वको पाटो पनि महत्वपूर्ण रहने संकेत गर्छ । गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले फिल्मप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह(निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
Facebook Comment