एमाले केन्द्रीय कमिटीमा कोशीका केन्द्रीय सदस्यका थरी थरी सुझाव

काठमाडौं । नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्य किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दिपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइ राखेका छन् ।

यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए । उनले पार्टीलाई पठाएका जनप्रतिनिधी निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरुको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गरे ।

बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । उनले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिएका छन् । केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष कमरेड र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पारेकोले आज पनि आपसी समझदारीमै विवादलाई टुंग्याउनु पर्ने बताइन ।

अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यले हिजै धारणा राखिसकेका छन् । बैठकमा मुख्यत पार्टी सचिवालय र पोलिटव्यूरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ ।

केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संसोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *