अभिमन्यु च्याप्टर १ मोसन टिजर
काठमाडौं । फिल्म ‘अभिमन्युः च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो ।
मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ । त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन् । टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ ।
पजलमा सुरुमा चक्कु देखिन्छ । त्यसपछि पहेँलो बस्त्र लगाएका चारजना मानिस देखिन्छन् । त्यसपछि क्रमशः आगो र व्यागबाट उडिरहेका नोट देखिएसँगै मोसन टिजर सकिन्छ ।
मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ । फिल्म भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले बताए ।
पोस्टप्रोडक्सनमा रहेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलाको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको डेब्यू निर्देशन छ । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
Facebook Comment