पनौतीमा एक्लोको छायांकन
काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेटको दृश्यमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुनको अभिनय छ ।
दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले फिल्मको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ।
छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो। सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै दृश्य दोहोरिनु पर्यो। निर्देशकको अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो।
कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’का अनुसार यस्तो दृश्य खिच्नका लागि उच्च स्तरको योजना र धैर्य आवश्यक पर्छ। फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा छन् । हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमस अवसर पारेर रिलिजको तयारी भइरहेको छ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकन छन्। फिल्मले यसअघि कान्स फिल्म फेस्टिभल को बजार क्षेत्र ९मार्केट० मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ।
निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
Facebook Comment