वनफूलले ढाकिएका पाटन हेर्ने केरी र बुकीमा पर्यटक

गण्डकी । काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजिन् । पेसाले स्टाफ नर्स उनी गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुगिन् । पदयात्रामा उनीसहित सात जना थिए । पोखराबाट मादी गाउँपालिका–१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे ।

त्यस दिन तसमै रात काटे । भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे । कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त ? पौडेल भन्छिन्, ‘त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ ।’

पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाइन् । हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताइन् । ‘अर्कोदिन मौसम राम्ररी खुल्यो, हिमाल र डाँडापाखाको दृश्यालोकन गर्न पायौँ’, उनले भनिन्, ‘मनसुनको याममा मुख्य गरी कोरीको आकर्षण बनेको भुइँभरि देखिने रङ्गीचङ्गी फूल र हराभरा देखिने प्रकृति नै हो ।’ पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताइन् ।

कोरी पदयात्रा तीन दिनमै पूरा गर्न सकिने र धेरै खर्चिलो पनि नभएको उनले बताइन् । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज भएको पौडेलले सुनाइन् । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ बढेको बताए । ‘बर्खा लागेपछि अन्यत्र अफसिजन सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक आउँछन्’, उनले भने, ‘कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाँकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त गन्तव्य हो ।’

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।

बागलुङकी सकुन्तला थापा पनि वर्षात्को कुनै पर्वाह नगरी गत असारको अन्तिम साता ढोरपाटनको बुकी क्षेत्र पुगिन् । मनसुन पदयात्राका लागि पछिल्लो समय चर्चामा रहेको उक्त क्षेत्र पुग्नेमा उनी एक्लै भने थिएनन् । साथमा अरु चार जना साथी पनि थिए । असार ३० मा बागलुङ बजारदेखि मोटर यात्रामा निस्किएको उक्त टोली त्यसै दिन दिउँसो ढोरपाटन उपत्यका पुगेको थियो । चार हजार मिटरमाथिसम्म फैलिएको बुकीपाटन पुग्ने लक्ष्यसहित उनीहरु त्यहाँबाट पदयात्रा सुरु गरे । पाँच घण्टाको पदयात्रापछि बुकी पुगे ।

चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडासम्म पुगेर फर्किएको थापाले बताइन् । पहिलो दिन बुकीमा रहेको गोठमा रात बिताएर भोलिपल्ट घुमफिर गरी साँझ ढोरपाटन उपत्यका झरेको उनको भनाइ छ । ‘बुकीमा खाना र बासको सुविधा नभएकाले तलबाटै सबै बन्दोबस्त गरेर जानुपर्छ, झोलामा लगेका खानेकुरा खाएर हामीले गोठमै रात बितायौँ’, थापाले भनिन्, ‘त्यहाँ पुग्दा भैँसी र भेँडा गोठालाको दिनचर्या हेर्न पाइन्छ, भेँडीगोठमा रमाउन पाइन्छ ।’

विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाएको उनले बताइन् । ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु त्यहाँको अर्को आकर्षण रहेको थापाले बताइन् । पोखराका पर्यटक पथप्रदर्शक दिवस गुरुङले तीन÷चार वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको बताए । ‘फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले पनि ढोरपाटन र बुकी क्षेत्रको प्रचारप्रसारमा व्यापकता ल्याएको छ’, उनले भने, ‘बुकी पदयात्रामा जाने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायीहरुले गोठस्टेको अवधारणा पनि सुरु गर्नुभएको छ ।’

गुरुङले आफू पनि हालै ढोरपाटन घुमेर फर्केको सुनाए । त्यहाँ छँदा जाजरकोट, अर्घाखाँची, गुल्मीदेखि आएका पर्यटकलाई भेटेको उनले बताए । ‘नेपालमा विशेष गरी शरद् र वसन्त ऋतुमा बढी पर्यटकीय गतिविधि हुने गर्छन्, मानिसहरु पनि यही बेला बढी घुम्न निसक्छन्’, गुरुङले भने, ‘तर पछिल्लो समय मनसुनको समयमा पनि नजिकका गन्तव्यमा घुमघाम गर्ने, पदयात्रामा जाने क्रम बढीरहेको छ, यसले नेपाल पर्यटनका लागि हरेक मौसममा उपयुक्त छ भन्ने देखाउँछ ।’

असारदेखि भदौसम्मको समय मनसुन बढी सक्रिय हुने र यो बेला बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटना निम्तने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने उनको सुझाव छ । ‘गन्तव्यस्थलको सम्मको यातायात र अन्य सुविधा, मौसमको पूर्वानुमानलगायतका विषयमा जानकारी बटुल्नुपर्छ, यात्राको बन्दोबस्त पनि सोहीअनुसार मिलाउनुपर्छ’, गुरुङले भने, ‘भौगोलिक रुपमा अति कठिन र विपद् जोखिम भएका ठाउँको यात्रामा सकभर नजानु नै उत्तम हुन्छ ।’ उनले मनसुन याममा घुमफिरका लागि उपयुक्त थुप्रै गन्तव्य नेपालमा भए पनि तिनको उजागर हुन नसकेको बताए । पछिल्लो समय गण्डकी प्रदेशमा कास्कीको कोरी, बागलुङको ढोरपाटन, बागलुङ र पूर्वीरुकुमको सीमामा पर्ने चौँरीखर्कलगायत गन्तव्यस्थल मनसुन पदयात्राका लागि चिनिन थालेको गुरुङले बताए ।

ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन नसकेको बताए । मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा यस याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘पर्यटनलाई बाह्रैमास चलायनमान बनाउने गरी नीति र प्रवद्र्धनका कार्यक्रम ल्याउनु आवश्यक छ, निजी क्षेत्रले मात्र चाहेर हुँदैन, यसमा सरकारले नै पहल लिनुपर्छ’, उनले भने, ‘मनसुनमा पनि घुमफिर गर्न रुचाउने, आनन्द लिने पर्यटक हुन्छन्, तर उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *