कैलालीमा चैते धान उत्पादन वृद्धि
अत्तरिया (कैलाली) । कैलालीमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गत वर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएकामा यस वर्ष आठ हजार १०० मेट्रिकटन उत्पादन भएको जानकारी दिए । उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्रफल पनि बढेको छ । जसले गर्दा उत्पादनमा वृद्धि भएको हो ।’
जिल्लामा गत वर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धानखेती गरिएकामा यस वर्ष एक हजार ५०० हेक्टरमा खेती गरिएको उनले जानकारी दिए । सूचना अधिकारी ओझाका अनुसार यस वर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ । गत वर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष पाँच दशमलव चार मेट्रिकटन प्रतिहेक्टर पुगेको हो ।
सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धानखेती गर्ने गरिएको बताउँदै उनले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका उल्लेख गरे । चैते धानखेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले जानकारी दिए ।
Facebook Comment