क्याप्टेन साबको छायांकन सुरु
काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को शनिवार ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो ।
असार २६ गते गौरीघाटमा फिल्मको मुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
फिल्ममा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको फिल्ममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित भएपनि उनको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक फिल्म बनाइने निर्देशक खनालको भनाइ छ ।
Facebook Comment