२१ लाख बढीले हेरे म त सुतेर उठेको पैसामा
काठमाडौं । फिल्म ‘माग्ने राजा’को गीत ‘म त सुतेर उठेको पैसामा’ यतिबेला चर्चामा छ । फिल्मका प्रमुख पात्र केदार घिमिरे ‘माग्ने बुढा’ फिचर्ड गीतलाई युट्युबमा २१ लाख बढी दर्शकले हेरेका छन् । फिल्ममा ऋषि लामिछानेको निर्देशन र मुनाल घिमिरेको निर्माण छ ।
पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको मनोविज्ञान टपक्क समातेको छ । यही कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतका टुक्रा टुक्रामा बनेका रचनात्मक टिकटकले जो कोहीलाई प्रशन्न बनाउँछन् ।
निर्देशक ऋषिले टिजर र लोकगीतमा केदार घिमिरेलाई पुरानो छविमा कायम राखिरहँदा दर्शकलाई फिल्म पुरानै ढर्रामा त छैन भन्ने शंका उब्जिएको बताए । ‘तर ‘म त सुतेर उठेको पैसामा’गीतसँगै हामी फिल्मको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ’, उनले भने ।
निर्माता मुनाल घिमिरेका अनुसार फिल्मले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको छ । मुनाल भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन् । फिल्ममा हामीले हँसाउँदा हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ । फिल्मको प्रदर्शनपछि यसले नयाँ बहसको सिर्जना गर्छ भन्ने कुरामा विश्वस्त छौँ ।’
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म भदौ ६ मा प्रदर्शनमा आउँदैछ । फिल्ममा केदारसँगै विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको फिल्म सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।
Facebook Comment