लोडसेडिङको हल्ला चलेपछि चितवन पुगे हितेन्द्रदेव
काठमाडौं । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबारै बिहान चितवन पुगेका छन् ।
सकेसम्म सोमबारबाटै विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि चितवन पुगेका हुन् ।
चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरू गर्यो भनेर हल्ला चलिरहेका बेला शाक्य आफैँ त्यहाँको समस्या समाधान गर्न खटिएका हुन् ।
‘चनौली शाखाको समस्या समाधानका लागि मर्मत जारी छ,’ सोमबार बिहान चितवन पुगे शाक्यले भने,’ ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिका लागि चितवन आइपुगेको छु ।’
उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरुलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए ।
‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरूसँग थप जानकारी लिइरहेको छु,’ उनले भने, ‘आज बेलुकासम्म चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत् आपूर्ति हुन्छ।’
निरन्तरको वर्षाको प्रवाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभर खटिरहेको भन्दै उनले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए ।
‘प्राविधिक साथीहरू रातभर काममा खटिइरहनु भएको छ । चनौली, हर्दीलगायतमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौँ,’ उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याबारे पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’
उनले मधेस प्रदेशको जनकपुरसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानसहितका समस्या र विद्युत आपूर्तिको अवस्थाबारे पनि अनुगमनसहित बुझ्ने तयारीमा रहेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेशमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरिसकेका छन् ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडान सकेर नयाँ ट्रान्फर्मर चार्ज भइरहेको जानकारी दिए ।
उनले त्यो ट्रान्फर्मर चार्ज भइसकेपछि सोमबार नै लोड सार्ने काम सम्पन्न हुने बताए । सकेकसम्म सोमबारबाटै नियमित विद्युत् आपूर्ति हुनेमा आशावादी रहेको उनले बताए ।
‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ केभी सवस्टेशनमा न्यु भरतपुर बसेनी सवस्टेशनबाट आउने ३३ केभी लाइनमाको बाटो साँघुरो भएको र अत्याधिक लोडका कारण समस्या सिर्जना भएको हो,’ उनले भने, ‘यो समस्या सकेसम्म आजै समाधान गर्छौ । त्यसका लागि हाम्रो टोली रातभरी खटेर भए पनि समाधानको प्रयासमा निरन्तर लागेको छ ।’
चुनौली वितरण केन्द्रको क्षमता ३०० सय एम्पीएरसम्मको क्षमता भए पनि विद्युत् माग बढेर तारमा ४५० एम्पीएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणले जानकारी दिएको छ ।
चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्न बसेनी १३२ केभी सवस्टेशनबाट चनौली सवस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माण अन्तिम चरणमा छ।
Facebook Comment