वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती पक्राउ परेका हुन्।
पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र मैया देबीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबाहिर भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका-८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका-१० बाट शनिबार र मैया देबीलाई चन्द्रागिरी नगरपालिका-५ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देबीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Facebook Comment