चर्चा पाउँदै कोशेढुंगाको नत्र भने जिन्दगी व्यर्थ छ

काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ’ छ’ प्रति दर्शकको क्रेज बढेको छ । फिल्मका निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् ।

युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए । ‘नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,’ उनले भने, ‘हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।’

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।

गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

निर्माणपक्षले यो गीतमा टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको छ । अगस्ट २० सम्म सहभागीले भाग लिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नुपर्नेछ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।

आगामी भदौ १२ गते रिलिज हुने फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *