मेराविरुद्ध प्रपञ्च रचियो, मुख्यमन्त्रीबाट राजीनामा दिन्न: लामा
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलका नेताबाट विश्वास गुमाएपछि बहादुरसिंह लामाले आफूविरुद्ध प्रपञ्च रचिएको प्रतिक्रिया दिएका छन्।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो। मत विभाजनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामाले दलमा विश्वासको मत नपाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताए।
संसदीय दलको नयाँ नेता चयनका लागि आफूले दलभित्र छलफल गर्ने उनले बताए। उनले बागमती प्रदेश सरकार गठबन्धनमा आधारित रहेकाले सरकार र संसदीय दल फरक-फरक विषय भएको धारणा राखे । मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।
त्यस्तै काग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले संसदीय दलको नेताको हैसियतले लामा मुख्यमन्त्री बनेकाले विश्वास मत गुमाएपछि नैतिकताका आधारमा मार्गप्रशस्त गर्न सुझाव दिए। उनले कांग्रेसले अब प्रक्रिया सुरु गरेर दलको नेता चयन गर्ने जानकारी दिए।
प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २२ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले नयाँ संसदीय दलको नेताको रुपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सभा सदस्य बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
Facebook Comment