प्रधानमन्त्रीले गरे राष्ट्रिय सभा सदस्यको प्रसंशा, भन्छन्- वेल प्रिपेयर्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रसंशा गरेका छन् । गहिराइसहितको विषयकेन्द्रित बहस भएको भनेर यस निम्ति राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद समेत दिए ।

बुधबार राष्ट्रियसभामा अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्राजुएसन)को सन्दर्भमा बहस भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यो विधेयकमा अध्ययन नै गरेको थियो ।

बुधबार सभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफल पुरै सुने । त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका सदस्यहरूको प्रशंसा गरेका हुन् ।

‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो त्यस्तै भएको छ ।’

सभाध्यक्ष नारायण दाहालले प्रतिवेदनमाथि बोल्न सांसदलाई तीन मिनेटको समय दिएका थिए । त्यसक्रममा उनले सुरुमै विषय केन्द्रित भएर आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।

सभाध्यक्ष दाहालको आग्रह र अपेक्षा अनुसारकै बहस भएको भनेर जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यहरूको प्रशंसा गरेका हुन् ।

‘समयसीमाभित्र छलफल सीमित गर्नुभएको छ । ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ । सबै वेल प्रिपेयर्ड (राम्रो पूर्व तयारी)’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *