चीनमा भैंसीको मासु पठाउन खुल्यो कारखाना, २० अर्बको लगानी स्वीकृत

काठमाडौं । छिमेकी मुलुक चीनको साझेदारीमा सिन्धुलीमा निर्माण हुन लागेको थर्मल्ली प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री (भैंसीको मासु प्रशोधन फ्याक्ट्री) को लागि उद्योग विभागले २० अर्ब नेपाली रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ ।

यो कारखानाको नेपालस्थित साझेदार कम्पनी हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडका परियोजना प्रमुख तथा अध्यक्ष डा. नवीन शर्माका अनुसार गत बिहीबार उद्योग विभागले कारखाना सञ्चालनका लागि २० अर्ब नेपाली रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो ।

हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पब्लिक लिमिटेडको सहायक कम्पनी छेङ्दु जियान फूड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो । ७० डिग्री सेल्सियस तापक्रममा तताइएको राँगा भैंसीको मासु चीनमा निर्यात हुनेछ ।

नेपालको इतिहासमा फूड्स सम्बन्धी सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको यो पहिलो परियोजना हो । सरकारले यो परियोजनालाई गेम चेन्जर परियोजनाको रुपमा हेरेको छ ।

यो कारखाना निर्माण गर्न तथा प्रोसेस्ड कुक्ड वफेलो मिट उत्पादन गर्न २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रुपैयाँबराबर (२ सय अमेरिकी डलर) को लगानी लाग्ने भएको छ ।

यसमध्ये २० अर्ब चीनको छेङ्दु जियान फूड लिमिटेड र बाँकी ७ अर्ब रुपैयाँ नेपाली साझेदार कम्पनी हिमालयन फूड इन्टरनेशनलले लगानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । २० अर्ब रुपैयाँ कारखाना निर्माण र प्लान्ट राख्नमा खर्च हुनेछ । यस्तै ७ अर्ब रुपैयाँ पशुपालन, पशुपालनको लागि आवास, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुनेछ ।

परियोजना प्रमुख शर्माका अनुसार यो रकम इक्वीटी वा बैंकबाट ऋण लिएर परिचालन गरिनेछ । उनका अनुसार यो कारखाना सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ४ स्थित साहान भन्ने स्थानमा निर्माण गर्ने प्रक्रिया सुरु भएको हो ।

कारखाना निर्माण गर्नका लागि कूल १ सय विगहा जग्गा आवश्यक परेको छ । ५० विगहा कारखाना निर्माण गर्न र कारखाना वरिपरी भैंसी पालन गर्ने छुट्टै कम्पलेक्स निर्माण तथा भैंसीलाई विषादीरहित घाँस खुवाउनका लागि घाँस उत्पादन गर्न कम्तिमा ४० विगहा क्षेत्रफल भएको जग्गा आवश्यक परेको हो ।

कारखानामा मासु प्रशोधन कार्यमा खटिने ७ हजार कामदारका लागि बस्ने आवास गृह पनि यहि ४० विगहा क्षेत्रफलमा निर्माण हुनेछ । मासु प्रशोधन गर्ने कार्यमा संलग्न हुने कामदारलाई रोग संक्रमणबाट जोगाउन कारखानाभित्रै बसोबास गर्नु पर्ने व्यवस्था गरिएको छ ।

उनीहरू भैंसी वा घाँस खेतीसँग सम्पर्कमा रहने छैनन् । भैंसी पाल्ने किसानहरूलाई संक्रमण सर्न सक्ने जोखिमका कारण कारखानाको परिसरभित्र प्रवेश गर्न नदिने व्यवस्था हुनेछ ।

यसमध्ये हालसम्म ५० विगहा जग्गा खरिद गर्न हिमालयन फूड इन्टरनेशनल प्राइभेटले बैना गरिसकेको छ । बैना भएकोमध्ये १० विगहा कारखानाको नाममा हस्तानान्तर भइसकेको छ । बाँकी बैना भएको जग्गा पनि हस्तानान्तर हुने प्रक्रियामा छ ।

सुरुवाती समयमा २ सय चिनियाँ प्राविधिक रहने र बाँकी कर्मचारी नेपाली हुने उनले बताए । किसानलाई व्यवसायिक र रोगमुक्त भैंसीपालनमा आकर्षित गर्न देशभर भैंसीपालक समूह गठन गरिएको छ । यस्तै बर्दियाको गुलरियामा घाँस उत्पादन गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ ।

अगामी असोजसम्ममा भने आवश्यक पर्ने जग्गाको व्यवस्थापन गरिने उनको भनाई छ । कारखानाको भौतिक पूर्वाधार निर्माणसम्बन्धी डिजाइन भने तयार भइसकेको छ ।

हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेड र छेङ्दु जियान फूड लिमिटेडबीच भएको सम्झौताअनुसार यो कारखाना निर्माण भएपछि दैनिक पाँच हजार गोटा राँगा तथा भैंसी (५ सय मेट्रिक टन) का दरले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँबराबरको झण्डै २ लाख मेट्रिक टन प्रसोस्ड कुक्ड वफेलो मिट निर्यात चीनमा निर्यात हुनेछ ।

उनका अनुसार छेन्दु जियान र हिमालयन फुडबीच आगामी सन् २०२६ फेब्रुअरीबाट मासु निर्यात गर्ने गरी समझदारी भए पनि समयमा जग्गाको व्यवस्थापन र निर्माण कार्य सुरु हुन नसकेकाले निर्धारित समयभन्दा केहि महिना ढिलो गरी निर्यात गर्ने प्रक्रिया सुरु हुनेछ ।

पर्याप्त परिमाणमा राँगा भैंसीको उपलब्धता भएपछि दैनिक ९ सय मेट्रिक टन वफेलो मिट निर्यात गर्ने लक्ष्य राखिएको छ । दैनिक ९ सय मेट्रिक टनको दरले वार्षिक २ खर्ब ७० अर्ब रुपैयाँबराबरको यो मिट निर्यात हुने शर्माले जानकारी दिए ।

उनका अनुसार चीनले मासु प्रशोधन कारखानासँगै मरिणमा एयरपोर्ट निर्माण गर्ने प्रस्ताव पनि अघि सारेको छ । मरिण वडा नम्बर ७ स्थित बाह्रबिसेमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन समेत भइरहेको बताइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *