लेन्देखोलामा फेरि आयो भीषण बाढी, सुरक्षित रहन अपिल
काठमाडौं । नेपाल–चीन सिमाना हुँदै बग्ने लेन्दे खोलामा पुनः भीषण बाढी आएको छ। गड्गडाउँदै आएको बाढीले जलविद्युत् तथा त्रिदेशीय मार्गमा निकै क्षति गरेको छ।
चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट बग्ने लेन्देखोलामा अकल्पनीय बाढीले गरेको क्षतिको घाउ नसुक्दै पुनः बुधबार सोही खोलामा विनाशकारी बाढी आएको छ। बाढीले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली विद्युत् हवमा निकै क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
नेपाल–चीन सीमा रसुवागढीको ल्हेन्दे खोला हुँदै त्रिशूलीमा मिसिएको बाढीले नुवाकोटको नेपाल विद्युत् प्राधिकरणको २२० केभीएको त्रिशूली–३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्याएको हो। तीन साता अगाडिको बाढीले पनि उक्त सबस्टेसनमा ठूलो क्षति पुगेको थियो।
अहिले क्षति फेरि दोब्बर बनाएको स्थानीयको भनाइ छ। उक्त सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्न सक्ने अवस्था देखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। अन्य प्लान्टहरूमा भने क्षति नभएको प्राधिकरणले जनाएको छ।
यद्यपि, बाढीले सबस्टेसनमा बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने भएको छ्। लेन्देखोलामा बुधबार फेरि पनि ठूलो बाढी आउँदा नुवाकोट र रसुवामा त्रिशूली नदी किनारको क्षेत्र कटानमा परेको उत्तरगया गापा अध्यक्ष माधवप्रसाद अर्यालको भनाइ छ। उनका अनुसार बाढीले विद्युत् संरचना, सडकमा निकै क्षति पुर्याउनुका साथै नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगया धाम डुबानमा परेको छ।
बाढीका कारण गत असार २४ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले गत सातादेखि सुरु गरेको अस्थायी पुल निर्माणको कामसमेत रोकिएको छ। सडक, पुल तथा जलविद्युत्का संरचना पुनर्निर्माण बर्खाको समय भएका कारण अनिश्चित भएका छन्।
चीनको तिब्बतमा परेको भीषण वर्षासँगै बुधबार बिहानको रातिदेखि नेपालतर्फको लेन्देखोला र सोही खोला मिसिएको त्रिशूली नदीमा २३ दिन नबित्दै फेरि भीषण बाढी आएको हो। आकस्मिक आएको बाढीले किस्पाङ गापा ५ स्थित विद्युत्को त्रिशूली सबस्टेसन बगाएको छ।
बाढीले बगाउँदा करोडौंको क्षति पुगेको विद्युत् प्राधिकरणले जनाएको छ। २३ दिन अगाडि आएको बाढीले गरेको क्षतिको पुनर्निर्माण सुरु नहुँदै फेर बाढि आउँदा विपत्ति माथि विपत्ति थपिएको नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले बताए। उनका अनुसार क्षतिको न्यूनीकरणको पहल सुरु गरिएको छ। उक्त स्थानमा विद्युत् निर्यात तथा आपूर्ति बन्द भएको छ।
बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेशनमा ठूलो क्षति गरेको छ। बुधबार बिहान ३ बजेदेखि नदीमा भीषण बाढी आएपछि उक्त क्षति गरेको हो। बाढीका कारण लेन्देखोला र त्रिशूलीको जलसतह ह्वात्तै बढेको थियो। लेन्देखोलामा पुनः आएको भीषण बाढीले त्रिदेशीय सडकमार्गको दर्जनौं स्थानमा सडक कटान गर्नुका साथै बगाएको छ।
यो सडकमार्गको स्याफ्रुबेंसीदेखि रसुवागढीसमम १० स्थानमा सडक ध्वस्त भएको रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले बताए। उनका अनुसार २३ दिन अगाडिको बाढीले क्षति गरेको उक्त सडक पुर्ननिर्माण र मर्मत गरी केही दिन अगाडिदेखि मात्रै सञ्चालन गरिएकामा बुधबार आएको बाढीले पहिलेको भन्दा पनि बढी क्षति गरेको छ।
क्षतिको अन्य मूल्यांकन कार्य भइरहेको अधिकारीको भनाइ छ। ‘लेन्देखोलामा गत असार २४ गते मंगलबार आएको भन्दा ठूलो बाढी आएको छ,’ अधिकारीले भने, ‘बाढीले धेरै ठाउँमा सडक बगाएको छ, पुनर्निर्माण र मर्मत सकिनेबित्तिकै फेरि बगायो।’ बाढीले सडक बगाउँदा उक्त मार्ग खण्डहर जस्तै भएको छ। ‘स्याफ्रुबेंसीदेखि टिमुरे–रसुवागढीसम्मका विभिन्न १० स्थानमा बाढीले सडक अवरुद्ध गरेको छ,’ सहायक प्रजिअ अधिकारीले भने, ‘अहिले उक्त सडकखण्ड पूर्णरूपमा सडक अवरुद्ध भएको छ भने क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन।’
गत असार २४ गतेको बाढीले बगाएको सडक मर्मत गरेपछि त्यस क्षेत्रमा केही दिनअघिबाट मात्रै साना ठूला गाडी चल्न थालेका थिए। मर्मत गरेको र नयाँ ठाउँमा पनि बाढीले सडक कटान गरेर ध्वस्त वनाएको अधिकारीले बताए। नुवाकोट र रसुवामा मंगलबार र बुधबार पानी नपरे पनि लेन्देखोलामा ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ। ‘खासै ठूलो पानी परेको छैन,’ अधिकारीले भने, ‘तिब्बततिरबाटै आएको बाढीले क्षति गरेको हो, के भएर बाढी आएको हो ? अहिले नै भन्न सकिने अवस्था छैन।
लेन्देखोला र त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। नुवाकोट र रसुवाको जिल्ला प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको हो।
बाढीले नुवाकोटको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका थिए। बाढीले क्षति गरेर बन्द सडक खुलाउने प्रक्रियाका लागि आवश्यक कार्य सुरु गरिएको छ।
ल्हेन्देखोलामा बुधबार आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरेस्थित सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सिमाना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलामा चीनतर्फबाट ठूलो बाढी आएकाले नुवाकोट, रसुवा र धादिङका त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजगता अपनाउन आग्रह गरेको थियो। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको तौल मापक यन्त्र धर्मकाटा बगाएको छ।
यसअघि गत असार २४ गते मंगलबार ल्हेन्देखोलामा चीनतर्फबाटै भीषण बाढी आउँदा नुवाकोट र रसुवामा ठूलो मात्रामा जनधन क्षति भएको थियो। रसुवागढी टिमुरेबाट तीन सुरक्षाकर्मी, ६ जना चिनियाँ नागरिक र नेपाली चालक, कामदारसहित २० जना बेपत्ता भएका थिए।
सोही दिन नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शवमात्र सनाखत भएको थियो। केही शव तथा मानव अंगका टुक्रा त्रिशूली नदीका विभिन्न स्थानवाट फेला परेपनि अन्यको पहिचान हुन सकेको छैन।
Facebook Comment