लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने

चितवन । यहाँको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो ।

भण्डारण गृह बनाउन राप्ती नगरपालिका–१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन र मकवानपुर जोड्ने लोथर पुलबाट ७०० मिटर पश्चिम लोथर खोलाको बाँध सम्म नियमले जग्गा लिएको हो ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पाेरेशनको सहकार्यमा रु १५ अर्ब लगानीमा अमलेखगञ्ज लोथर पेट्रोलियम पाइप लाइन तथा भण्डारण गृह निर्माण गरिँदै छ । आयल निगमले रु १० अर्ब र इन्डियन आयल कर्पाेरेशनले रु पाँच अर्ब लगानी गरेर परियोजना सम्पन्न गर्न लागिएको हो । जग्गा खरिदमा रु ६० करोड खर्च भइसकेको छ भने रु १० करोडमा थप जग्गा खरिद प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।

आधुनिक प्रविधिबाट ग्रिनफिल्ड टर्मिनल निर्माण गर्न लागिएको हो । ६२ किलोमिटर लामो पाइपलाइन निर्माण गरी जुनसुकै बेला तीन हजार २०० किलोलिटर इन्धन क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सक्ने क्षमताको पाइप लाइन बनाउन लागिएको हो । तीन वर्षभित्रमा काम सक्ने जनाइएको छ ।

सो भण्डारण गृह निर्माण गर्दा लोथर खोला र राप्ती नदीमा बलियो तटबन्धन निर्माण हुने स्थानीयवासीले आशा गरेका छन् । यससँगै रोजगारी प्राप्त हुने र व्यवसाय सञ्चालन गर्न सकिने उनीहरुको विश्वास छ ।

स्थानीय यमनाथ भट्ट भण्डारण गृह बनेसँगै बाढीको जोखिम घट्ने, रोजगारी पाइने र व्यवसाय चल्नेमा विश्वस्त छन् । उनले भने ‘यो आयोजनाले हामी स्थानीयलाई फाइदा नै पुग्छ भन्ने आशामा छौँ ।’

स्थानीय दीपक खड्काले आयोजना बनेसँगै कृषि उत्पादनले स्थानीय रुपमा बजार पाउने बताए । उनले भने, ‘जे काम जानिएको छ, मिल्दो काम त्यहाँ पाउन सकिन्छ ।’

वडा अध्यक्ष सिद्धिलाल स्याङतान भण्डारण गृह बनेसँगै पूर्वी चितवन बाढीबाट सुरक्षित हुने बताए । उनले भने, ‘यो चितवनकै गौरवको परियोजना हो, यसले दक्षता र क्षमता अनुसार स्थानीयलाई रोजगारी दिन्छ ।’

दैनिक पाँच सयभन्दा बढी ट्याङ्कर ओहोरदोहोर गर्ने भएकाले यहाँका सानातिना होटल, रेष्टुरेन्ट, लजलाई फाइदा पुग्ने उनको भनाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *