जलाकीको दुई पोस्टर

काठमाडौं । गत वर्षको असोज ३ गते प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर यतिबेला नयाँ फिल्म ‘जलाकी’ निर्माण गर्दैछन् । यो फिल्मको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो फिल्मको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ ।

गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । ‘जलाकी’मा पनि उपासनाको मुख्य भूमिका रहनेछ । उनले यो फिल्ममा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतिक्षामा रहने देखिन्छ ।

सोमबार यो फिल्मबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको छ । पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने यो फिल्मको छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तिन चरणमा रहने कुरा फिल्मका निर्देशक अशोक थापा मगरले बताए ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु–भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो फिल्मले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ । फिल्मका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *