अस्थिरताको जतिसुकै चाहना राखे पनि ८४ को निर्वाचनसम्म यो गठबन्धन जान्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरूलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए।
प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे । लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के गर्यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे। देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताए। भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैं माग्ने उनले बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने जिकिर गरे।
भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत विदेश जाने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए। यसका पछाडि मुलुक र नागरिकको हित नभइ इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे।
त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको विकास र समृद्धि लगायतका क्षेत्रका भएका कामकारवाहीका बारेमा जानकारी गराए। वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ ।
उनले बहुबिवाहलाई मान्यता दिने गरि कानुन ल्याउन लागको भन्ने हल्ला सहि नभएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको विकासमा लाग्न आह्वान समेत गरे।
Facebook Comment