भारतले हासिल गरेको प्रगतिबाट नेपाल लाभान्वित हुन चाहन्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतले विभिन्न क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिइरहेको र भविष्यमा अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् ।
प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भारत एक उदाउँदो अन्तर्राष्ट्रिय शक्ति भएको र उसको सामाजिक-आर्थिक तथा प्राविधिक प्रगतिबाट नेपाल खुसी र उत्साहित रहेको बताए । “एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,” राष्ट्रपति पौडेलले भनेको कुरालाई पोखरेलले उद्धृत गरे ।
दुई देशबीचको सम्बन्ध शताब्दीऔँ पुरानो सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, र जनस्तरको सम्बन्धमा आधारित रहेको राष्ट्रपतिले बताए । उनले नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको र भारतको ‘छिमेक पहिलो नीति’को प्रशंसा गरेको पनि जानकारी गराए ।
यसैगरी, भेटका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी नीति अनुसार नेपाल भारतका लागि उच्च प्राथमिकतामा रहेको बताए । उनले आफ्नो भ्रमणको उद्देश्य आधुनिक युगमा दुवै देशबीचको विकास र प्रगतिका लागि कनेक्टिभिटी कसरी बढाउने भन्नेबारे छलफल गर्नु रहेको बताए । यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरे ।
नेपालको दुई दिने भ्रमणमा आएका विदेश सचिव मिश्रीले राष्ट्रपति पौडेलका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर द्विपक्षीय सम्बन्धमा भएका प्रगतिहरूबारे जानकारी गराए । भारतीय दूतावासका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशको गहिरो सभ्यतागत सम्बन्ध र बलियो साझेदारीमा जोड दिइएको थियो । साथै, विभिन्न क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने उपायहरूबारे पनि छलफल भएको थियो ।
विदेश सचिवको यो भ्रमण प्रधानमन्त्री ओलीको भदौको अन्तिममा हुने भारत भ्रमणको तयारीका लागि भएको हो । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
Facebook Comment