दसैँका लागि घटस्थापनाअघि नै बस टिकट बुकिङ खुल्ने, भाडा पनि बढ्ने

काठमाडौँ ।  यस वर्षको दसैँका लागि घटस्थापनाभन्दा करिब १५ दिनअघि नै लामो दूरीका बसको टिकट बुकिङ खुल्ने भएको छ। यस्तै, भदौ महिनाभित्रै सार्वजनिक सवारीको भाडा पनि बढ्ने सम्भावना छ।

संसद्को भौतिक पूर्वाधार विकास समितिमा भएको छलफलमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले चाडपर्वमा लाखौँ यात्रुको सहज यात्राका लागि यस्तो तयारी भइरहेको बताए। उनले बुकिङ कहिलेदेखि खुल्छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल गरेर चाँडै निर्णय गरिने जानकारी दिए।

निजी क्षेत्रका यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आएका छन्। तिवारीका अनुसार इन्धनको मूल्य ३५ प्रतिशत र पार्टपुर्जा, टायरजस्ता अन्य खर्च ६५ प्रतिशतलाई आधार मानेर भाडा समायोजन गरिन्छ। यो नियमित प्रक्रिया भएको र भदौमा भाडा बढाउने तयारी भइरहेको उनले बताए।

दसैँमा हुने ठूलो भीडभाड कम गर्न अनलाइनबाट टिकट काट्ने प्रणालीलाई प्रोत्साहन गरिने विभागले जनाएको छ। यस्तै, यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन यातायात व्यवसायी महासङ्घ, ट्राफिक प्रहरी र सडक विभागसँग समन्वय गरी काम गरिनेछ।

सडकमा कुनै समस्या भएमा तत्काल जानकारी आदानप्रदान गर्न गत वर्षदेखि सञ्चालनमा आएको ‘ह्वाट्सएप ग्रुप’ लाई यस वर्ष पनि प्रभावकारी बनाइनेछ। यदि यात्रुको चाप बढी भएमा निजी स्कुल र साझा यातायातका बसहरू पनि सञ्चालन गर्न अनुरोध गरिने योजना रहेको तिवारीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *