पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : म एमालेमै छु, आलोचनाबाट डराउँदिनँ
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथि हुने गरेका आलोचनालाई स्वाभाविक रूपमा लिएको पनि बताइन्।
राष्ट्रपति पदबाट हटेपछि आफू एमालेको राजनीतिमा फर्किएको भण्डारीले स्पष्ट पारिन्। उनले पार्टीले कुनै औपचारिक भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य नै रहेको बताइन्।
‘४५ वर्षदेखि म नेकपा एमालेको संगठित सदस्य छु,’ उनले भनिन्, ‘मलाई पार्टीले नै राष्ट्रपतिमा पठाएको थियो र आज पनि म एमालेमै छु।’
यद्यपि, एमालेले भने भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। यस विषयमा आफूलाई कुनै औपचारिक जानकारी नभएको उनले दाबी गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको बताउँदै राजतन्त्रमा राजा व्यक्ति हुने तर गणतन्त्रमा राष्ट्रपति एउटा पद मात्र हुने धारणा राखिन्। ‘राष्ट्रपति पद आवधिक हुन्छ र कुनै पनि जनताको छोराछोरी निर्वाचित हुन सक्छन्,’ उनले भनिन्, ‘कार्यकाल सकिएपछि उनीहरू आफ्नो काममा फर्कन सक्छन्।’
नेताहरूसँगको भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँगको भेटमा सामान्य छलफल मात्र भएको उनले बताइन्।
यसैगरी, उनले तत्काल वाम एकताको बलियो आधार नदेखेको तर यो असम्भव भने नरहेको विचार व्यक्त गरिन्।
Facebook Comment