१० करोडको चेक बाउन्स प्रकरणमा राजु गोर्खाली पक्राउ

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरमा राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई सोमबार चन्द्रागिरीबाट पक्राउ गरेको हो।

गोर्खालीलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले गोर्खालीले १० करोड रुपैयाँको लेनदेन कुन प्रयोजनका लागि गरेका थिए भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

गोर्खालीको आपराधिक पृष्ठभूमि पुरानै छ। उनले २०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बुको हत्या गरेको अभियोगमा १० वर्ष कैद भुक्तान गरिसकेका छन्। लिम्बुको हत्या तरवार प्रहार गरेर भएको थियो।

कारागारबाट छुटेपछि पनि गोर्खाली विभिन्न कसुरमा पटक पटक पक्राउ पर्दै आएका छन्। यसअघि उनी हातहतियार, लेनदेन र गुन्डागर्दीसम्बन्धी कसुरमा पनि पक्राउ परिसकेका छन्।

उनी २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा परेका थिए, तर पछि उनले टिकट पाएनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *