नेपालले रुबेला निवारणमा पायो ऐतिहासिक सफलता, डब्ल्यूएचओले दियो आधिकारिक मान्यता

काठमाडौं । बालबालिकाको प्राणघातक रोग मानिने रुबेला निवारणमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरासहित रुबेला निवारणमा उपलब्धि हासिल गरेको भन्दै यसलाई औपचारिक मान्यता दिएको हो।

यो उपलब्धि नेपालले खोप सेवा विस्तार, रोग–निगरानी प्रणाली सुदृढीकरण र निरन्तर प्रयासका कारण सम्भव भएको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन्।

डब्ल्यूएचओले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्ञापन गर्दै यो उपलब्धिलाई “नेपालको ऐतिहासिक सार्वजनिक स्वास्थ्य उपलब्धि” भनेको छ। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र साझेदारहरूप्रति आभार व्यक्त गर्दै यस अभियानलाई अझ दिगो बनाउने प्रतिवद्धता जनाएका छन्।

नेपालले सन् २०१२ मा देशव्यापी अभियानमार्फत ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई रुबेला खोप कार्यक्रममा समावेश गरेको थियो। त्यसपछि सन् २०१६ मा दोस्रो मात्रा थपियो। भूकम्प (२०१५) र कोभिड–१९ महामारीजस्ता चुनौतीबीच पनि खोप अभियान निरन्तर सञ्चालन भएको थियो। सन् २०२४ सम्म आइपुग्दा, नेपालले रुबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकासम्म पु¥याउन सफल भएको छ।

चिकित्सकका अनुसार, रुबेला र दादुरा दुवै अति संक्रामक रोग हुन् जसले बालबालिकामा गम्भीर जटिलता, विकलाङ्गता र मृत्यु समेत निम्त्याउने गर्छन्। एक संक्रमित व्यक्तिबाट १८ जनासम्म रोग सर्न सक्ने भएकाले यसलाई महामारीको जोखिम उच्च मानिन्छ।

दादुराका लक्षणहरूमा ज्वरो, रुघा–खोकी, आँखामा रातोपन, मुखभित्र सेतो दाग र अनुहारदेखि शरीरभर फैलिने बिमिरा देखिन्छ। रुबेला संक्रमण भएमा गर्भपतन, मृत शिशु जन्म, अन्धोपन, बहिरोपन र मुटु–मस्तिष्कमा विकृति जस्ता जन्मजात समस्या देखिन सक्ने चिकित्सकहरूले जनाएका छन्।

हालसम्म नेपालले ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि रुबेलाको नियमित खोप दिँदै आएको छ। खोप सुरक्षित मानिएको भए पनि केही व्यक्तिमा हल्का ज्वरो वा बिमिरा देखिन सक्ने तर ती असारहरू सामान्यतया केही दिनमै हराउने जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०१३ मा नै २०२० सम्ममा रुबेला नियन्त्रण र दादुरा निवारण गर्ने लक्ष्य तय गरेको थियो। तर, कोभिड–१९ महामारीका कारण लक्ष्य २०२६ सम्म धकेलिएको हो। नेपालले भने तोकेको समयसीमा भन्दा अगाडि नै रुबेला निवारण गरी दक्षिण–पूर्वी एसिया क्षेत्रमा विशेष उपलब्धि हासिल गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *