उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीमा कांग्रेस–एमाले
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। यसका लागि दुवै दलले आफ्ना सांसदलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन थालेका छन्।
कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी छ। सो बैठकपछि सांसदहरू सिंहदरबारस्थित दलको कार्यालयमा पुग्न थालेका छन्। उता एमालेले पनि आफ्ना सांसदलाई हस्ताक्षरका लागि दिउँसो २ बजेसम्म उपस्थित हुन सूचना दिएको छ।
यसअघि सोमबार साँझ बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेताहरू र महान्यायाधिवक्ता रमेश बडालबीच बैठक बसेको थियो। उक्त बैठकमा सामाजिक सञ्जाल नियमनबारे सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखविरुद्धको महाभियोग प्रस्तावबारे समेत छलफल भएको थियो। त्यसपछि मंगलबारदेखि नै महाभियोग प्रक्रिया अघि बढाउने सहमति बनेको हो।
उपसभामुख रानामाथि अमेरिका लैजाने व्यक्तिलाई भिसा दिलाउन अमेरिकी दूतावासमा आफ्नो लेटरप्याड प्रयोग गरी पत्र पठाएको आरोप छ। यसअघि पनि रानाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी भएपनि विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।
Facebook Comment