बढ्दै वैदेशिक लगानी, चालू आर्थिक वर्षमा आयो २४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मात्रै नेपालले २४ अर्ब १० करोड रुपियाँ बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खनिज, सेवामूलक, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।
विभागको मासिक प्रतिवेदनअनुसार साउन महिनामा १२७ वटा परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । तीमध्ये सबैभन्दा धेरै ७१ परियोजना सूचना प्रविधि क्षेत्रका छन् भने पर्यटन क्षेत्रका लागि ४१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । यस्तै, उत्पादन क्षेत्रका लागि तीन, ऊर्जा क्षेत्रका लागि एक र सेवामूलक क्षेत्रमा आठ परियोजनामा लगानीको प्रतिबद्धता गरिएको छ ।
कुल १२७ परियोजनामध्ये १२५ साना र दुई ठूला परियोजना रहेका छन्। प्रतिबद्ध लगानी रकमको हिसाबले भने कृषि क्षेत्र अग्रपंक्तिमा छ । विभागका अनुसार कृषि क्षेत्रमा मात्रै २० अर्ब ४ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
अन्य क्षेत्रतर्फ उत्पादन परियोजनामा १५ करोड ५० लाख, ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख, पर्यटन क्षेत्रमा ३ अर्ब २ करोड, सेवामूलक क्षेत्रमा ३३ करोड ५० लाख र सूचना प्रविधिमा ३६ करोड ५२ लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ ।
प्रतिवेदनअनुसार ७३ करोड ७ लाख रुपियाँ बराबरका ८१ परियोजनामा अटोमेटिक रुटमार्फत लगानी प्रतिबद्धता आएको छ भने बाँकी २३ अर्ब ३७ करोड रुपियाँ बराबरका ४६ परियोजनामा कागजी प्रक्रिया पूरा गरी लगानी अनुमोदन भएको छ । यी परियोजनाबाट आठ हजार २६८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
यसैबीच, साउन महिनामा मात्र विदेशी लगानीकर्ताले दुई अर्ब ९० करोड रुपियाँ रोयल्टीबापत बाहिर लगेका छन् । सोसँगै सेवा शुल्कबापत नौ करोड एक लाख रुपियाँ बाहिरिएको छ । यस्तै, २० हजार ४०० अमेरिकी डलर, ४४ लाख ९० हजार भारतीय रुपियाँ र १२ हजार युरोसमेत नेपालबाट बाहिरिएको विभागले जनाएको छ ।
Facebook Comment