अष्ट्रेलियाका २५ हलमा सयभन्दा बढि सोजका साथ रिलिज हुँदै ‘माग्ने राजा’

काठमाडौं । अगस्ट २२ अर्थात् भदौ ६ का दिनदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा लाग्ने भएको छ ।

अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्र सय सोजका साथ रिलिज हुन लागेको जानकारी दिएको छ । हलमा प्रदर्शन हुने भएसँगै चलचित्रको बुकिङसमेत खुला गरिएको छ ।

चलचित्रको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त सोजको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताए ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टी श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्यनजर गरी पर्याप्त सोजसहित चलचित्र रिलिज हुन लागेको बताइन । उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन लागेको हो ।

‘माग्ने राजा’लाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले वितरण गर्न लागेको हो । नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले चलचित्र पर्याप्त सोसहित नेपालसँगै अष्ट्रेलियामा रिलिज हुन लागेको र चलचित्रले उत्साहजनक व्यापार गर्ने अपेक्षा रहेको बताएका छन् । माग्ने बुढा अर्थात् केदार प्रसाद घिमिरे पहिलो पल्ट मुख्य भूमिकामा प्रस्तुत भएको चलचित्रका गीत र ट्रेलर दर्शकको रुचिमा परेका छन् ।

चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *