इलामको खानेपानी कार्यालय फिर्ता गरियोस् : सांसद सुहाङ नेम्वाङ

काठमाडौं । प्रतिनिधिसभा सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाबाट खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अन्यत्र सारिएकोमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यो निर्णयले जनताको सेवा पाउने अधिकारमाथि गम्भीर असर पर्ने बताए।

सांसद नेम्वाङका अनुसार, उक्त कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथरका हजारौं नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको थियो। कार्यालय हटाउँदा जनताले सहजै सेवा पाउने पहुँच गुमेको मात्र नभई, सम्पूर्ण सेवा प्रवाह कमजोर हुने खतरा रहेको उनको भनाइ छ।

उनले सेवालाई टाढा सारेर नभई, जनताको पहुँचमा अझ नजिक ल्याएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सांसद नेम्वाङले सम्बन्धित मन्त्रालय र सरकारलाई यथाशीघ्र उक्त कार्यालय इलाममै कायम गर्न वा त्यसको विकल्पमा पूर्ण सेवायुक्त कार्यालय स्थापना गर्न माग गरेका छन्।

उनले सुशासनको पहिलो आधार सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो भन्ने कुरामा जोड दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *