मेलबर्नलाई हराउँदै नेपालको लगातार दोस्रो जित
काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आफ्नो पाँचौँ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ।
डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रनको योगदान दिए। मेलबर्नका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए।
१४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स एकेडेमी २० ओभरमा १०६ रनमा अलआउट भयो। मेलबर्नका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए।
नेपालको जितमा सोमपाल कामीको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो। उनले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए। यसबाहेक, कुशल भुर्तेलले २ विकेट तथा शहाब आलम र रुपेश सिंहले १-१ विकेट लिए।
यो जितसँगै नेपालले पाँच खेलबाट ४ अंक जोडेको छ। यसअघि नेपालले हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो।
Facebook Comment