संघीय संसद्को आजको बैठक : वैकल्पिक विकास वित्त विधेयक पारित गर्ने कार्यसूचीसहित

काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक आज बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने प्रमुख कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी बैठकमा गृह, श्रम, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन् ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछिन् । बिहीबार समितिबाट यो प्रतिवेदन बहुमतले पारित भएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्नेछन् ।

त्यस्तै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभाको बैठकमा भने गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यक्रम छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *