लिपुलेक व्यापारिक प्रयोगप्रति नेपाल समाजवादी पार्टीको आपत्ति

काठमाडौं । भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने निर्णय गरेकोप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले कडा आपत्ति जनाएको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा पार्टीले यो कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि देखाइएको गम्भीर उपेक्षा र अपमानका रूपमा व्याख्या गरेको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको स्पष्ट आपत्तिका बाबजुद भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु दुःखद मात्र नभई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्ति हो।”

पार्टीले सीमा विवाद र कूटनीतिक संवेदनशील विषयको समाधानका लागि नेपाल सरकारले सशक्त, प्रभावकारी र परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिएको छ । साथै, भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिको आधारमा नै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्ग बनाउन खोजिएको स्मरण गर्दै पार्टीले त्यतिबेलै नेपाल सरकारले कूटनीतिक असहमति जनाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा सरकारको कमजोरीलाई पनि औंल्याइएको छ । “सरकारको कूटनीतिक सक्रियता र दृढताको अभावले सीमा र राष्ट्रिय हितसम्बन्धी संवेदनशील विषयलाई अझ जटिल बनाएको छ,” विज्ञप्तिमा भनिएको छ ।

नेपाल कुनै शक्तिको हेपाइ वा चेपुवामा पर्ने देश नभएको उल्लेख गर्दै पार्टीले दुई विशाल अर्थतन्त्रबीच गतिशील पुलका रूपमा नेपालको भूमिका अझ मजबुत बनाउनुपर्ने धारणा राखेको छ ।

पार्टीका प्रवक्ता कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा सरकारले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कूटनीतिक र राजनीतिक कदम चाल्न जोडदार अपिल गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *