म शासक नभइ सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफू शासक नभई सहजकर्ताको भूमिकामा रहने स्पष्ट गरेका छन्।

मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले मन्त्री एक्लैले केही गर्न नसक्ने बताउँदै सबैको सहकार्यले मात्र परिणाम आउँछ भन्ने धारणा व्यक्त गरे।

उनले भने, “म तपाईंहरूको शासक होइन, सहजकर्ताका रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै नतिजा देखिन्छ।”

मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतामुखी सेवा प्रवाहमा ठोस उपलब्धि निकाल्न सकिने विश्वास व्यक्त गरे। तर, लगातार हुने कर्मचारी हेरफेरले दीर्घकालीन कार्यमा चुनौती आउने पनि उनले बताए।

उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा–सुविधाले उत्साहित बनेको छ। बजेटीय सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेको आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा उनले राखे।

पाण्डेले पर्यटन नीति कार्यान्वयनले सकारात्मक उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी पनि दिए।

त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको थियो।

कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन समेत दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *