गाजामा इजरायली बमबारीको भयावह असर, सर्वसाधारणको अवस्था झन् दयनीय
काठमाडौं । गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले निरन्तर गरिरहेको बमबारीले त्यहाँका सर्वसाधारणमाथि गम्भीर मानवीय संकट निम्त्याएको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलको पछिल्लो आक्रमणले नागरिकको मृत्यु र ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ ।
ओचाले जारी गरेको प्रतिवेदनअनुसार, इजरायलले विशेषगरी पूर्वी तथा दक्षिणी गाजाका अज–जयतुन क्षेत्रमा आक्रमण तीव्र पारेको छ । पछिल्लो समय अगस्त ८ यता मात्रै ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको र यसबाट कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको ओचाले पुष्टि गरेको छ ।
यसबाहेक, डेइर अल–बलाहमा बिहीबार इजरायली हवाई आक्रमणले विस्थापितहरू बसोबास गर्ने एउटा शिविरलाई निशाना बनाएको थियो । यो शिविर ओचा कार्यालय नजिकै रहेको र त्यहाँ करिब २०० परिवार बसोबास गरिरहेको भए पनि, इजरायली सेनाले चेतावनी दिएपछि शिविर खाली गरिएकोले मानवीय क्षति हुन पाएन । यद्यपि, शिविरका टहरा र सर–सामानहरू पूर्ण रूपमा नष्ट भएका छन् भने ओचाको कार्यालयमा सामान्य क्षति पुगेको छ ।
ओचाले आफ्नो मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको बताएको छ । उसले कुनै पनि हालतमा नागरिक पूर्वाधारहरूलाई लक्षित गर्न नहुने स्पष्ट पारेको छ ।
गाजामा मानवीय संकट झन् गहिरिएको छ । ओचाका अनुसार, अगस्त १२ देखि २० सम्म मात्रै १६ हजार ८०० भन्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् । मार्चमा युद्धविराम अन्त्य भएयता विस्थापित हुनेको संख्या सात लाख ९६ हजार नाघेको छ, जसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार गाजामा बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ । जुलाई महिना गाजाका लागि सबैभन्दा धेरै बाल मृत्यु भएको महिना बन्यो । जुलाईमा कुपोषणका कारण पाँच वर्ष मुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो । युनिसेफले करिब ३ लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा रहेको जनाएको छ ।
अहिले गाजामा बालबालिकाहरू सडकमा सामान बेच्ने र भग्नावशेष संकलन गर्ने जस्ता काम गर्न बाध्य भएका छन् । बारम्बारको विस्थापनले उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको ओचाले जानकारी दिएको छ ।
Facebook Comment