हसाउँदै युवा जगाउँदै ‘माग्ने राजा’

काठमाडौं । यतिबेला नेपाली चलचित्र माग्ने राजा निक्कै चर्चामा छ । यो चलचित्र भदौ ६ शुक्रबारदेखि रिलिज भएको हो ।

फिल्ममा अभिनेता केदार घिमिरे अर्थात माग्ने बुढा प्रमुख भूमिकामा देखिने घोषणा भएदेखि नै यो फिल्मको चर्चा चुलिँदै आएको हो । त्यसमाथि फिल्ममा माग्ने बुढाले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको कुराले फिल्मी नगरीलाई नै ततायो ।

त्यस्तै फिल्मका पोस्टर, गीत, टीजर तथा ट्रेलर क्रमशः सार्वजनिक हुँदै जाँदा यी कुराहरुले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउँदै ल्यायो, फलस्वरुप रिलिज भएकै दिन हलले दर्शकको साथ पनि पाए ।

यसका साथै सधैँ हास्य कलाकारको रुपमा देखिने माग्ने बुढा फिल्ममा हिरो बन्दा कस्तो देखिन्छ ? दर्शकलाई हसाउँदै आएका हास्य कलाकारले फिल्मको पर्दामा सुन्दर अभिनेत्री वर्षा शिवाकोटीसँग कसरी रोमान्टिक देखिन्छन् होला ? कसरी एक्शन अवतारमा देखिन्छन् होला ? भन्ने कौतुहलता दर्शकमा पैदा भएको देखिएको थियो ।

यी प्रश्नको उत्तर खोज्दै धेरै दर्शक हल पुगेको देखिन्छ । फिल्म मनोरञ्जनात्मक हुनुका साथै शिक्षामूलक भएको दर्शकको प्रतिक्रिया छ । वास्तवमै फिल्मको पहिलो हाफ हेर्दा फिल्मले हसाउँने काम बढी गर्छ । माग्ने बुढाको सम्वादैपिच्छे दर्शक खुलेर हाँसेको देखिन्छ भने कुनै सम्वादमा भने मुख छोपेर जिब्रो टोक्दै हाँसेको पनि पाइयो । जे होस्, दर्शक हाँसेको हाँसै फिल्मको मध्यान्तरसम्म पुग्छन् ।

मध्यान्तरसम्म आइपुग्दा दर्शकको मनमा अब के फिल्मको कथाको मुख्य आकर्षण नै हसाउँनु मात्र हो र ? भन्ने प्रश्न भने उब्जिरहेको हुन्छ ।

यद्यपी, अब मध्यान्तरपछि केही न केही त फरक होला भन्ने सोच्दा–सोच्दै फिल्मले फरक मोड समातिसकेको हुन्छ, जुन अति नै रोचक रह्यो ।

फिल्ममा देशप्रतिको माया, अहिलेको राजनीतिक अवस्था, भष्टाचारले कुन हदसम्म देशमा जरा गाडेको छ ? जनता कसरी आफैँ यसप्रति सजग हुनु पर्छ ? भन्ने कुरा यति मज्जाले देखाइएको छ, त्यसलाई दर्शकको एकटक बनाएर ध्यान खिच्न सफल भएको छ ।

जुन हेर्दा आफू पनि नेपाली हुँ, मैले पनि मेरो देशको लागि यसरी पो लागिपर्नु पर्छ कि ? भनेर भित्रबाट नै देशभक्ति उम्रिन थाल्छ । फिल्ममा माग्ने बुढाले बोलेका सम्वादले वास्तवमै दर्शकलाई गम्भिर भएर सोच्न बाध्य बनाउँछ ।

फिल्ममा जुन हिसाबले नेपालको राजनीतिक गतिविधि तथा त्यसमा नेताहरुको गतिविधि देखाइएको छ, त्यसले त फिल्म हेर्दा–हेर्दै तातो रगत नै उम्लेर आउँछ । केही क्षणको लागि भए पनि तिमी यो देशमा जन्मेर तिम्रो जिम्मेवारी के हो त ? तिमीले पनि आफ्नो जिम्मेवारी पूरा गरेका छौ त ? भनेर प्रश्न गर्न मन लाग्छ । शरीरमा काँडा उम्रिन थाल्छ र अब केहि त गर्नै पर्छ भन्ने लाग्छ ।

फिल्ममा जुन किसिमले एउटा शिक्षा दिन खोजिएको छ, त्यसमा उपस्थित दर्शकको ध्यान केन्द्रित गर्नुको साथै गम्भिर पनि बनाएको पाइयो ।

फिल्मले सबैभन्दा गम्भीर राजनीतिक सन्देश के दिन खाजेको छ भने जनताले आफ्नो नेता मन परेन भने चुनाव नै रद्द गर्नका लागि ‘राइट टू रिजेक्ट’ को प्रयोग गर्न सक्छन् भन्ने कुरा देखाउन खोजिएको छ । अहिलेको राजनीति फ्रष्टेसनलाई कसरी हटाउन सकिन्छ ? भन्ने कुरा फिल्ममा रोचक तरिकाले देखाउन खोजिएको छ । यद्यपि फिल्मको अन्त्यमा मगन्ते नारायणकी आमालाई नदेखाइँदा भने दर्शकले केहि खल्लो महसुस गरेका छन् ।

सात वर्षपछि फिल्म निर्देशनमा फर्किएका निर्देशक ऋषि लामिछानेले केदार घिमिरेलाई अभिनेता बनाइराख्दा हास्य विधालाई त निखारेका छन् नै, तर उनले जुन हिसाबले अहिलेको समसामयिक विषयलाई घतलाग्दो गरेर प्रस्तुत गरेका छन्, त्यो प्रशंसनीय छ ।

फिल्मको पहिलो हाफमा माग्ने बुढा भएपछि दर्शकको अपेक्षाअनुसार हास्य पक्षलाई महत्व दिनु पर्ने कुरालाई निर्देशकले राम्ररी बुझेको देखिएको छ । फिल्ममा अभिनेत्री वर्षा शिवाकोटीको सुन्दरताले सुनमा सुगन्ध थपेको अनुभव गर्न सकिन्छ ।

सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा के छ भने जसरी एक कुशल निर्देशकले लामो समयपछि फिल्म निर्देशन गरे र जुन हिसावले केदार घिमिरेलाई अभिनेता बनाएर अगाडि प्रस्तुत गरे, त्यस हिसाबमा फिल्म राम्रो बनेको छ ।

फिल्मका लागि दर्शकको जुन कौतुहलता थियो, फिल्म हेरिसकेपछि त्यसले दर्शक निराश भने पक्कै हुने छैनन् भन्ने हाम्रो बुझाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *