फिल्म हेरेर माग्ने बुढाका बुवाले भने: कस्तो रमाइलो भइराको थियो, फूत्तै सिद्धियो फिलिम त!

काठमाडौं । नेपाली फिल्म नगरीमा यतिबेला माग्ने राजाले एकछत्र राज गरिरहेको छ । भदौ ६ गतेदेखि प्रदर्शन सुरु भएको यो फिल्मले अहिले सम्म दर्शकको माया बटुल्दै हाउसफूल भएर चलिरहेको छ ।

यही फिल्म हेर्न माग्ने राजाका अभिनेता केदारप्रसाद घिमिरे माग्ने बुढाका बुवा पनि हल पुगेका छन् । हलमा उल्लेख्य दर्शकदीर्घाका बीचमा बसेर फिल्म हेरेका माग्नेका बुवा कृष्णप्रसाद घिमिरेले फिल्म हेर्ने धित नै नमरेको बताएका छन् ।

उनले भने, ‘एकछिन त अझै आउला भनेको गइहाल्यो ।’ अर्थात बुवालाई यो फिल्म एकदमै छोटो लाग्यो । उनले भने, ‘कस्तो रमाइलो भइराको थियो, फूत्तै सिद्धियो फिलिम त!’

हल छिरेपछि छोराको अभिनयसँगै कथावस्तुमा हराएका बुवालाई फिल्म केहीबेर चल्छ भन्ने लागेपछि सक्किहालेको अनुभूत भएको छ ।

कान्छो छोरा विष्णु र बुहारी सुनिताले हेटौँडाको नारायणी मलमा लगेर माग्ने राजा देखाएका हुन् । ८० को वर्षको उमेरमा बुवाले फिल्म हेर्दै नेपाली फिल्मको अहिलेको अवस्थालाई अवलोकन गरे ।

दमको बिरामसँग जुधिरहेका बुवासँग केदारको बेग्लै अन्तरंग छ । अर्थात ०३९ सालमै आमा गुमाएर टुहुरो बनेको केदारलाई पर्दामा छाइरहेको देखेर बुवा फिल्म चलुञ्जेल दंग परे।

आमाको वियोगलाई बुवाले कहिल्यै अभाव हुन दिएनन् । केदारको आजको यो स्थान पनि बुवाकै हात साथ र सहयोगले भएको हो ।
बुवाले फिल्म हेरेर आफ्नो अभिनयबारे सुनाउँदा केदारलाई पनि बेग्दै हौसला मिलेको छ ।

माग्ने बुढाका बुवामात्र होइन् । माग्ने बुढाका साथी सर्कलहरुले पनि फिल्म एकदमै उत्कृष्ठ भएको प्रतिक्रिया दिएका छन् । केदार घिमिरेले इन्ट्रो नेपालसँगको कुराकानीमा भने,‘मलाई साना विद्यार्थीदेखि पाको उमेरका बुवाहरूले फिल्म हेर्दै बेग्लै उर्जा र हौसाला दिनुभएको छ । यसले मलाई थप उर्जा मिलेको छ । म सबैको भरोसालाई बचाउन सक्ने शक्ति प्राप्त होस् भन्ने कामनाका साथ सकेसम्म दर्शकलाई हलमा भेट्ने कोशिशमा हुनेछु।’

उनले मिलेसम्म नेपाली परिवेरलाई बोकेको बनेको फिल्म एक पटक हेरेर आवश्यक सल्लाह सुझाव दिन पनि आग्रह गरेका छन् ।
हिजो शनिबार भएर पनि धेरै हाउसफूल भएको यो फिल्म आज काठमाडौं उपत्यकाका अधिकांश हलमा उल्लेख्य दर्शकका साथ प्रदर्शनमा छ भने पूवर्वको विर्तामोडदेखि पश्चिम धनगढीसम्म दर्शकको माया पाएको छ ।

विर्तामोडमा फिल्म हेर्न दार्जिलिङदेखिका दर्शक आइरहेका छन् । जसले दिउँसोदेखि नै हल भरिएका छन् । काठमाडौंमा दिउँसोको हल फूल नभए पनि साँझका लागि टिकट लिनेको संख्या बढ्दै गएको छ ।

यसले निर्माण पक्षलाई थप हौसला मिलेको छ । फिल्मका अभिनेता केदारप्रसाद घिमिरे पनि आफूलाई हलमा हेर्न आतुर भएर आएका दर्शकलाई सम्मान गर्दै मिलेसम्म एक पटक हलमा पुग्ने र दर्शकको आशिर्वाद लिने गरी आफ्नो समय तालिममा व्यवस्थापन गर्दै आएको बताउँछन् ।

जे होस् परिवारका सबै पुस्ता एक ठाउँमा बसेर देशको अवस्था हेर्दै हाँस्दै रमाउँदै हेर्न मिल्ने फिल्मले तपाईंलाई पनि हल पुर्‍याउने छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *