राष्ट्रपति पौडेल र भियतनामी उपराष्ट्रपतिबीच शिष्टाचार भेट

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरीन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने पर्याप्त सम्भावना रहेको बताए। उनले ती सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न नेपाल सरकार इच्छुक रहेको स्पष्ट पारे।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले नेपाल हाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत् जस्ता क्षेत्रमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी गराए। साथै, भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रका रूपमा विकास गर्न सफल भएकोमा पनि उहाँले प्रसन्नता व्यक्त गरे।

उनले दुवै देशका जनताबीचको ऐतिहासिक सम्बन्धमा बौद्ध धर्मले महत्वपूर्ण सेतुको भूमिका खेलेको उल्लेख गर्दै लुम्बिनीलाई भियतनामी जनताले जीवनमा एक पटक अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गरे।

भेटका क्रममा उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको र भियतनामले सन् २०४५ सम्म उच्च आय भएको राष्ट्रमा रूपान्तरण हुने आकांक्षा राखेको सन्दर्भ उठाउँदै त्यसअघि नै दुई देशबीच समग्र सहकार्यको ढाँचा (फ्रेमवर्क) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याईन।

उनले नेपाल र भियतनामबीच संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा सहकार्य आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। साथै, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले शान्तिका पक्षमा खेलेको भूमिकाबाट आफू प्रभावित भएको र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि व्यक्त प्रतिबद्धताको पनि प्रशंसा गरीन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *