सोभरेन क्रेडिट रेटिङका लागि नेपाल पुनः तयारीमा
काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को तयारी थालेको छ। क्रेडिट रेटिङका लागि आवश्यक गृहकार्यका सन्दर्भमा आज अर्थ मन्त्रालयमा सरोकारवाला निकायहरूको सहभागितामा बैठक बसेको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले पछिल्लो एक वर्षमा गरेका प्रगतिहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै तयारीलाई व्यवस्थित र तथ्यपरक बनाउन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयको सचिवालयका अनुसार बैठकमा आर्थिक, कानुनी, नीतिगत तथा सुशासनसम्बन्धी सुधार, राजनीतिक स्थायित्व, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा जलविद्युत् क्षेत्रमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
बैठकमा अर्थ मन्त्रालयअन्तर्गत आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराईले सोभरेन क्रेडिट रेटिङका सन्दर्भमा हालसम्म गरिएको तयारीको प्रस्तुति दिएका थिए।
नेपालको साख मूल्यांकन अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले गर्नेछ। सो मूल्यांकनका लागि फिचको टोली चाँडै नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ। फिचले अघिल्लो वर्ष नेपाललाई ‘बिबी माइनस (BB-)’ श्रेणीमा राखेको थियो।
Facebook Comment