प्रधानसेनापति सिग्देल चीन जाँदै
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। आगामी सेप्टेम्बरको दोस्रो साता उनी चीन भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेको सैन्य स्रोतले जानकारी दिएको छ।
सिग्देललाई चीनबाट ११औं बेइजिङ सियाङ्सान फोरममा सहभागी हुन निमन्त्रणा आएको थियो। भ्रमण स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिएको छ। अहिले उनी थाइल्यान्ड भ्रमणमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि प्रधानसेनापति सिग्देल चीन जान लागेका हुन्। उनले चीनमा रक्षामन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले यो विषयबारे आफूसमक्ष जानकारी आइनसकेको बताए। ‘प्रधानसेनापतिज्यूको चीन भ्रमणबारे अहिले मलाई जानकारी आइसकेको छैन,’ उनले भने।
सेप्टेम्बर १७ मा सुरु हुने सियाङसान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ। फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको सैनिक स्रोतको दाबी छ।
हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षामन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्छ। सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि सांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउँदै आएको छ।
यसअघि मंसिर २६ मा प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयाँ दिल्ली पुगेका थिए। सिग्देल २०८१ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन्। सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा गरेको थियो। यद्यपि उनको भ्रमण अहिले मात्र हुन लागेको सैनिक मुख्यालय स्रोतले जनाएको छ।
उनी चीन भ्रमण जानुअघि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यासको पाँचौं संस्करण भदौ तेस्रो साताबाट हुने भएको छ। सैन्य अभ्यासको पाँचौं संस्करण नेपालमा हुने टुंगो लागेको हो। सैन्य अभ्यास प्रतिआतंकवाद, युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित हुने बताइएको छ। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको संयुक्त सैन्य अभ्यास गत वर्ष चीनको सिचुवान प्रान्तको छेन्दु सहर छोङछिङमा भएको थियो।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरूबिच पाँचौं संस्करणको सैन्य अभ्यासको तयारी भइरहेको छ। यो सैन्य अभ्यास १० दिनसम्म चल्नेछ। स्रोतका अनुसार नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले भदौ २१ देखि संयुक्त सैन्य अभ्यास गर्नेछन्। नेपाली सेनाले भारत, अमेरिका, चीनसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेतले चीनसँग सैन्य अभ्यास हुन लागेको जानकारी दिए। ‘सगरमाथा फ्रेन्डसिप’ नामबाट हरेक वर्ष हुने सैन्य अभ्यास यसअघि चीनमा भएको थियो, अहिले भने नेपालमा हुन लागेको हो। सैन्य अभ्यासबाट क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान हुनेछ,’ सहायक रथी बस्नेतले भने।
सैन्य अभ्यासको चौथो संस्करण गत वर्ष चीनमा भएको थियो। सैनिक मुख्यालयले सैन्य अभ्यासको तयारीका लागि नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारीसहित पाँच सदस्यीय टोलीलाई सिचुवान प्रान्तको छेन्दु पठाएको थियो। टोलीमा उपरथी अधिकारीसहित सहायक रथी दीपेन्द्र गुरुङ, महासेनानी मनिराम थापा, सेनानी पवन कटवाल र सहसेनानी महेश ढकाल छेन्दु पुगेर फर्किएपछि यता संयुक्त अभ्यासको मिति तय भएको हो।
२०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने २०७६ मा तेस्रो संस्करण नेपालमा भएको थियो।
Facebook Comment