नेप्से ४.८३ अंकले बढ्यो, कारोबार ४ अर्बमा सीमित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचक मंगलबारको कारोबारमा सामान्य रूपले बढेको छ। कारोबार अन्त्यसम्म नेप्से परिसूचक ४.८३ अंकले उकालो लागेर २७६६.०९ विन्दुमा पुगेको हो।
तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा घटेको देखिन्छ। मंगलबार कूल ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। सोमबार (भदौ ९) यो रकम ५ अर्ब ७५ करोड रुपैयाँ थियो।
सो दिन १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ भने १४९ कम्पनीको मूल्य घटेको छ। युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य स्थिर रहँदै प्रतिकित्ता ४७ हजार ५०० रुपैयाँमा कायम रह्यो। कम्पनीका २० कित्ता सेयर मात्रै कारोबारमा आए।
विकास हाइड्रोपावर लिमिटेड सबैभन्दा धेरै मूल्य वृद्धिको सूचीमा रह्यो। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले अर्थात् प्रतिकित्ता ४२ रुपैयाँ ७० पैसाले बढेको छ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी अगाडि देखिएको छ। यस कम्पनीको ४८ करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार २१ करोड ७१ लाख १२ हजार रुपैयाँमा सीमित रह्यो।
मंगलबार कारोबारमा आएका १३ उपसमूहहरूमध्ये लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ। बाँकी समूहहरूमा भने सामान्य उतारचढाव देखिएको छ।
Facebook Comment