तराईमा रुचाइँदै लड्की गोरी

काठमाडौं । फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले फिल्म ‘अभिमन्युः च्याप्टर–१’ को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको फिल्मको अहिले कन्टेन्ट बाहिर आएका छन् ।

यसैक्रममा एक साता अगाडि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसीको चित्रण गर्दै फिल्मको हाइप बढाएको छ । ११ लाख भ्युज पाइसकेको यो गीतले प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।

‘म खासै भोजपुरी गीत सुन्दिन । तर, यो अलि रिफ्रेसिङ रहेछ । मजा आयो । प्रेरणा सिङ र प्रशान्त सिवाकोटीको आवाज सारै मिठो । किरण श्रेष्ठको डान्स राम्रो,’ तृष्णा घतानीले युट्युमा गीत हेरेर लेखेकी छन् ।

भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ । भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन् ।

भोजपुरी गीत भन्नबित्तिकै अलि छाडा हुन्छन् । तर, ‘लड्की गोरी त्यस्तो छैन । यसको पनि तारिफ भइरहेको छ । जीवन मल्ल गीत र भिडियो हेरेपछि कमेन्ट गर्छन्, ‘यो डान्स र अडियो बबाल छ । निड मोर एप्रिसिएसन । छाडा छैन, रमाइलो छ ।’

पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने डान्सिङ प्याटर्नका गीत चलिरहेका छन् । यो फूल डान्सिङ नम्बरमा छ, त्यसैले यो गीत दर्शकले मन पराइरहेका छन् । पछिल्लो समय सिनेमा प्रचारको अचुक अस्त्र नै गीत बनिरहेका छन् । यो गीत दर्शकले मन पराउँदा फिल्म ‘अभिमन्यु’लाई फाइदा भइरहेको छ । त्यसैले यो सिनेमा पनि हिट हुनेमा नन्दु गैरे ढुक्क छन्, ‘यो गीत हिट भयो भने यो फिल्म पनि हिट हुन्छ ढुक्क हुनुहोला,’ उनले लेखेका छन् ।

फिल्म ‘अभिमन्युः च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । यो फिल्मको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *