रुबीकुमारी साह हत्याकाण्ड: अभियुक्त लक्ष्मण पासवानको भिडियो सार्वजनिक, घटनाले लियो नयाँ मोड

काठमाडौं । रौतहटमा सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानले घटनाअघि खिचेको एक भिडियो सार्वजनिक भएको छ। करिब साढे नौ मिनेट लामो उक्त भिडियोमा उनले रुबीको हत्या आफैँले गरेको स्वीकार गरेका छन्। उनले रुबीको हत्यापछि आफूले पनि आत्महत्याको प्रयास गरेको बताएका छन्।

रौतहटको माधवनारायण नगरपालिका-६ स्थित खेतमा शरीर जलेको अवस्थामा भेटिएका पासवानको उद्धार प्रहरीले गरेको थियो। प्रारम्भिक बयानमा उनले रुबीको हत्या गरेपछि सुटकेसमा राखेर आफैँले आफ्नो शरीरमा आगो लगाएको बताएका छन्। उनको हातमा ‘माई हर्ट रुबीकुमारी’ लेखिएको ट्याटु पनि भेटिएको छ। गम्भीर घाइते अवस्थामा उनको गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ।

लक्ष्मणले भिडियोमा रुबी र आफूबीच कक्षा १० देखि नै प्रेम सम्बन्ध रहेको र पछि उनीहरूले भारत र नेपालका अदालतमा प्रेम विवाह गरेको बताएका छन्। तर, रुबीकी आमा र आफ्नो परिवारले यो सम्बन्धलाई नस्वीकारेकाले समस्या सुरु भएको उनको भनाइ छ। उनले आफू गरिब भएकाले रुबीकी आमाले यो विवाहलाई स्वीकार नगरेको र उनलाई अर्को धनी केटासँग बिहे गराइदिएको आरोप लगाएका छन्।

लक्ष्मणले रुबीकी आमाले पैसाको लोभमा आफ्नी छोरीलाई राजन, राजु र राजासँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेको र रुबीले नुहाउँदाको भिडियो खिचेर ब्ल्याकमेल गरेको जस्ता गम्भीर आरोप लगाएका छन्। उनले यो सबै रुबीकी आमाकै कारण भएको दाबी गरेका छन्।

लक्ष्मणले भिडियोमा रुबी र आफू दुवैले सल्लाह गरेर मर्ने निर्णय गरेको बताएका छन्। उनका अनुसार रुबीको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने योजना बनाएका थिए। उनले भिडियोमा “जेल जानुभन्दा मर्नु नै राम्रो” भनेका छन्। यद्यपि, शरीरमा आगो लगाएर पनि बाँच्न सफल भएका लक्ष्मण अब प्रहरी हिरासतमा रहनेछन्। घटनापछि पक्राउ परेका एक रिक्साचालक निर्दोष भएकाले उनलाई छाड्न पनि लक्ष्मणले अनुरोध गरेका छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *