आइपीएलबाट सन्यास लिँदै अश्विनको नयाँ यात्रा, अन्तर्राष्ट्रिय लिग खेल्ने संकेत
काठमाडौं । भारतीय अनुभवी स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपीएल)बाट औपचारिक सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत सन्देश सार्वजनिक गर्दै अब विश्वका अन्य क्रिकेट लिगहरूमा खेल्ने योजना रहेको बताएका छन्।
३८ वर्षीय अश्विनले लेखेका छन्, “आज एक विशेष दिन हो। कुनै राम्रो कुराको अन्त्य भनेको अर्को नयाँ सुरुवात पनि हो। म आज एक आइपीएल खेलाडीको रूपमा आफ्नो करिअर समाप्त गरिरहेको छु। योसँगै अन्तर्राष्ट्रिय लिगहरूमा खेल्ने सम्भावनाको ढोका खुलेको छ।”
अश्विन आइपीएलमा सर्वाधिक विकेट लिने बलरहरूमा पाँचौं स्थानमा छन्। उनले आफ्नो आइपीएल करिअरको सुरुवात चेन्नई सुपर किंग्सबाट गरेका थिए। त्यसपछि उनले राइजिङ पुणे सुपरजायन्ट, किंग्स ११ पंजाब (जहाँ उनले कप्तानी पनि गरेका थिए), दिल्ली क्यापिटल्स र पछिल्लो समय राजस्थान रोयल्सबाट खेले।
उनले आइपीएलमा १९० भन्दा बढी खेल खेल्दै १७० भन्दा बढी विकेट लिएका छन्। आफ्नो पोस्टमा उनले खेल्दै आएको हरेक टिम, खेलाडी, कर्मचारी र भारतीय क्रिकेट बोर्ड (BCCI) प्रति आभार व्यक्त गरेका छन्। “मैले जुन टिमहरूसँग खेलेँ, ती सबैको सम्झना सधैँ रहिरहनेछ,” उनले उल्लेख गरेका छन्।
अब अश्विनले क्यारिबियन प्रिमियर लिग, बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिगलगायतका विश्वभरका टी–२० लिगमा सहभागिता जनाउने संकेत दिएका छन्। भारतीय क्रिकेटमा आफ्नो बलियो पहिचान बनाएका अश्विनको यो नयाँ अध्यायले विश्व क्रिकेटमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Facebook Comment