शिक्षा विधेयक संशोधनको मागसहित शिक्षक महासंघको कांग्रेस कार्यालयमा धर्ना

काठमाडौं  । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग राख्दै आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत पार्टी कार्यालय घेराउ गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको हो। धर्ना कार्यक्रम दिउँसो २ बजेसम्म चल्ने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनको क्रमलाई अगाडि बढाउँदै बिहीबार एमालेको च्यासलस्थित कार्यालय र शुक्रबार माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयमा पनि धर्ना दिने कार्यक्रम तय भएको छ।

महासंघले शिक्षा विधेयकमा विगतका सहमतिहरूलाई समेटेर संशोधन गर्नुपर्ने माग गर्दै आएको छ। २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको महासंघले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेको ९ बुँदे सहमति पनि अझै कार्यान्वयन नभएको उल्लेख गरेको छ ।

मागहरु : 

  • शिक्षक पदपूर्ति प्रक्रिया: अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ७५% आन्तरिक प्रतिस्पर्धा र २५% खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने। तर, विधेयकमा ६०% आन्तरिक र ४०% खुला राखिएकोमा महासंघको आपत्ति।

  • स्थायी शिक्षकको बढुवा: आवधिक बढुवा प्रणाली समावेश गर्नुपर्ने, अस्थायी अवधिको गणना गर्नुपर्ने।

  • अध्यापन अनुमति पत्र: म्याद सकिएको अनुमति पत्र नवीकरणको व्यवस्था विधेयकमा नसमेटिएकोप्रति असन्तोष।

  • विभागीय कारबाही: शिक्षकप्रति हुने विभागीय कारबाही प्रणाली विगतको सहमति अनुसार हुनुपर्ने।

अन्य मागहरु :

  • विद्यालय कर्मचारीको पद र तलब सुनिश्चित गर्नुपर्ने।

  • बालकक्षा शिक्षकको पद, सेवा सुविधा र सुरक्षा सुनिश्चित गर्नुपर्ने।

  • संस्थागत विद्यालयमा व्यवहारिक सरुवा प्रणालीको अभाव।

  • शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रस्तावको विरोध।

  • शिक्षण काउन्सिलको व्यवस्था स्पष्ट गर्नुपर्ने।

  • राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व समावेश गर्नुपर्ने।

नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा छुटेका र सहमति विपरीत समावेश गरिएका विषयहरूलाई सच्याई प्रतिवेदनमा समेट्न र त्यसै अनुरूप विधेयक प्रतिनिधिसभामा पेस गर्न सरकारसँग माग गरेको छ। महासंघको भनाइमा सहमतिका आधारमा मात्र विधेयक अगाडि बढ्नुपर्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *