संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा हुने
काठमाडौं । संघीय निजामती सेवा विधेयक अन्तर्गत सहसचिव पदमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट भर्ने व्यवस्था गर्ने सहमति भएको छ।
बुधबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको दफाबार छलफलका क्रममा सहसचिवमा खुला प्रतिस्पर्धा समावेश गर्न प्रस्ताव उठेको थियो। समितिमा सहभागी सांसदहरूले सो तहमा पनि सीमित प्रतिशतमा खुला प्रतिस्पर्धा हुनुपर्ने धारणा राखेका थिए।
सांसदहरूको सुझावलाई समेट्दै समितिले सहसचिव पदमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने सहमति गरेको हो।
यसअघि प्रतिनिधिसभाले पारित गरेको विधेयकमा उपसचिव तहसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरिएको थियो। सहसचिव तहलाई समावेश नगरिएकोमा आलोचना भएको थियो। तर राष्ट्रिय सभाको विधायन समितिले उक्त निर्णय संशोधन गर्दै सहसचिव पदका लागि पनि खुला प्रतिस्पर्धाको बाटो खोल्ने निर्णय गरेको हो।
विधायन समितिकी सभापति तुलसीकुमारी दाहालले सरकारले सुरुमा ल्याएको विधेयकमै सहसचिवमा खुला प्रतिस्पर्धा समावेश गरिएको उल्लेख गर्दै प्रतिनिधिसभाले त्यसलाई हटाएपछि फेरि समितिले पुनः समेट्ने निर्णय गरेको जानकारी दिइन्।
यता, नायब सुब्बा (नासु) पदपूर्तिको विषयमा पनि राष्ट्रिय सभामा छलफल जारी छ। प्रतिनिधिसभाले नासु पद शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ने प्रस्तावसहित विधेयक पठाएको छ। तर राष्ट्रिय सभाका सांसदहरूले हालको प्रचलित व्यवस्था कायम राख्दै नासु पदमा आन्तरिक तथा खुला दुवै माध्यमबाट पदपूर्ति हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।
विधेयकको अन्तिम रूप दिन अब प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच सहमति जुटाउनु पर्नेछ।
Facebook Comment