स्वास्थ्य बीमा नवीकरण असोज मसान्तसम्म गर्न बोर्डको अनुरोध, ढिलाइमा थप शुल्क लाग्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले समयमै बीमा नवीकरण गर्न बीमितहरूलाई आग्रह गरेको छ। बोर्डले जानकारी दिएको छ कि वि.सं. २०८२ सालको असोज मसान्त (२०८२/०६/३१) भित्र नवीकरण गरेमा कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
बिगतमा स्वास्थ्य बीमामा आबद्ध भई नवीकरण नगरेका परिवारलाई लक्षित गर्दै बोर्डले एकपटकका लागि यस्तो सुविधा दिएको हो। बीमा नवीकरणको प्रक्रिया सहज बनाउन ई–सेवा, खल्ती, कनेक्ट–आइपीएस लगायतका डिजिटल माध्यम र दर्ता सहयोगीमार्फत सेवा उपलब्ध गराइएको छ।
तर असोज मसान्तपछि नवीकरण गर्दा बीमितहरूले तोकिएको योगदान रकममा अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको शुल्क व्यवस्था यस्तो छ:
३ महिनाभित्र नवीकरण गर्दा: १०% थप शुल्क
६ महिनाभित्र: ३०% थप शुल्क
१ वर्षभित्र: ५०% थप शुल्क
१ वर्षपछि: १००% थप शुल्क
२ वर्षपछि: योगदान रकमको तीन गुणा
३ वर्षपछि: योगदान रकमको चार गुणा
बोर्डले सबै बीमितहरूलाई तोकिएको समयमै नवीकरण गरी स्वास्थ्य सेवामा निरन्तरता सुनिश्चित गर्न र अनावश्यक आर्थिक भारबाट बच्न आग्रह गरेको छ। समयमै नवीकरण नगरेमा स्वास्थ्य उपचारमा अवरोध आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
Facebook Comment