जनताले माओवादीमाथि विश्वास नगरे मुलुक दुर्घटनातर्फ जान सक्ने प्रचण्डको चेतावनी

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीप्रति जनताले विश्वास गुमाए मुलुक गम्भीर संकटमा पर्न सक्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२  कार्यक्रममा बोल्दै प्रचण्डले जनताको समर्थन माओवादीमा नरहे देश ‘बच्नै नसक्ने’ दाबी गरे।

उनले भने, “सिधा कुरा भन्नुपर्दा, यदि जनताले माओवादीलाई विश्वास गरेनन् भने यो देश ठुलो दुर्घटनामा पर्छ, बच्दैन, ठूलो संकटमा जान्छ।”

कार्यक्रममा उनले माओवादी नेतृत्वका अघिल्ला सरकारहरू राम्रो काममा केन्द्रित रहेको उल्लेख गर्दै, वर्तमान सरकार भने डरका कारण बनेको आरोप लगाए।

“माओवादीको पहिलो, दोस्रो र तेस्रो सरकारले राम्रो बाहेक केही नगरेको हो। तर आज कांग्रेस र एमालेजस्ता भ्रष्टाचारमा संलग्न दलहरूले भ्रष्टाचारीहरू जोगाउन सरकार बनाएका हुन्,” उनले आरोप लगाए।

प्रचण्डले वर्तमान सरकार सुशासनका लागि नभई आफूहरू पनि फस्न सक्ने डरका कारण गठन भएको बताए। “अब आफू पनि पर्छु कि भन्ने भएपछि मिलेर बनाइएको सरकार हो यो। यसबाट सुशासनको आशा गर्नु भ्रम मात्रै हो,” उनको भनाइ थियो।

उनले नेपाली काँग्रेस र नेकपा एमालेमाथि खुलेर भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै, सदनमै आफूले वर्तमान सरकारको नियतमाथि प्रश्न उठाइसकेको पनि स्मरण गराए।

प्रचण्डले आफ्ना भनाइमार्फत आगामी राजनीतिक मार्गचित्रमा माओवादीको भूमिका अझै निर्णायक रहने संकेतसमेत गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *