साफ यू–१७ महिला फुटबल: नेपालको उपाधि यात्रा समाप्त

काठमाडौं । साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले फेरि बङ्गलादेशसँग हार ब्यहोरेको छ। यस हारसँगै नेपाल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ।

भूटानको थिम्पुमा बिहीवार सम्पन्न खेलमा नेपाललाई बङ्गलादेशले ४–१ गोलको स्पष्ट अन्तरले पराजित गर्‍यो। बङ्गलादेशकी सौरभी अकन्दा प्रितीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरिन् भने थुइनुए मार्माले एक गोल थपिन्। नेपालका लागि भूमिका बुढाथोकीले सान्त्वना गोल गरिन्।

यो नेपालका लागि चौथो खेल थियो। यसअघि बङ्गलादेशसँगै पहिलो भेटमा ३–० को हार व्यहोरेको नेपाल, भारतसँगको पहिलो खेलमा ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले भूटानलाई २–१ ले पराजित गर्दै पहिलो जित निकालेको थियो।

प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेश सहभागी छन्। डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीलाई विजेता घोषणा गरिनेछ।

अब नेपालले बाँकी दुई खेल शुक्रवार भारतसँग र आइतवार भूटानसँग खेल्नेछ। यद्यपि, यी खेलहरू नेपालका लागि उपाधि दौडभन्दा बाहिरको औपचारिकता मात्र हुनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *